बूढाबूढीको लुछालुछ भएपछि चट्टु,ले भन्यो- “ल भो भो अब, के को लुछालुछ, गफै त गर्यान हो नि मैंले। यस्तो कुरामा नि के को रडाको? ल अब गफ सिध्दियो, सफ सुन्नु स् ।”
त्यसपछि चट्टुले सुनाउन थाल्यो-
“देखेको कुरा साँचो, सुनेको कुरा झुटो ।
काम लिंदै नलिनू, लिएपछि झिंजो नमान्नू ।
जारी गर्ने मानिस छेपारो देखे नि तर्सन्छ ।
मान्छे बूढो हुन्छ तर बानी जाँदैन ।
विचार नगरी केही कुरा नगर्नू ।
घोडा हेर्दा असल जात हेर्नू,
कन्या हेर्दा असन कुल हेर्नू ।
कुलाचार नछोड्नू ।
सुत्दा गोडा पसार्ने ठाउँ हेर्नू ।
आम्दानी अनुसार खर्च गर्नू ।
धन लिंदा गुप्त गर्नू, दिंदा प्रकट गर्नू ।
काँचो माटो र कच्चा छोरा जता लगायो, उतै लाग्छ ।
आज जस्तो भोलि हुँदैन ।
बूढाहरू नभएको सभा कच्चा हुन्छ ।
भाग्यमा नभएको कुरामा बुध्दि जाँदैन ।
चुक्ली जस्तो पाप अरू कुनै हुँदैन ।
दशा नलागी भूत लाग्दैन ।
भात खाई जात नसोध्नू ।
सज्जन शत्रु निको, दुर्जन मित्र ननिको ।
परत्र सम्झी काम गर्नू, जीउ जमीनको व्यापार नगर्नू ।
सिरान फेर्ने बिरामी, कुरा फेर्ने झगडिया धेरै टिक्दैनन् ।
दुर्जनका दाँत कोखामा हुन्छ ।
कुकुरलाई नून, बैगुनीलाई गुन ।
मुख छँदै नाकले पानी पिउनु हुन्न् ।
एउटाको जरो नखनी अर्कालाई ओखती हुन्न ।
आगो र शत्रुलाई सानो नसम्झनू ।
काललाई ओखती लाग्दैन ।
कुबेलामा खान दिने भन्दा बेलैमा बिदा लिने असल ।
लोग्ने मानिसको घर छैन, स्वास्नी मानिसको थर छैन ।
थ्याच्च नबस्नू, प्याच्च नबोल्नू ।
सबै थोक पोखिए उठाउन हुन्छ, कुरा पोखिए उठाउन हुन्न ।
लौ त अब सफ पनि सकियो ।
अब बाँकी के छ ?”
जिल्ल पर्दै ससुराले भने- “छैन । अब भात खान मात्र बाँकी छ ।”
ज्वाईं-ससुरा खाना खान बसे । सासूले मासु पकाएर दिई ।
चट्टु ले भन्यो- “मासु त खुब मीठो छ नि ! कहाँबाट ल्याउनु भो सासुज्यू ?”
सासुले भनिन्- “तल घरमा 50 धार्नीको चरो मारेछन् । एक धार्नी ल्याएर पकाएको नि ।”
चट्टु- “धत्, 50 धार्नीको चरा नि हुन्छ काहीं ?”
सासु- “अनि, मुलाको एउटा पातले गाडा लच्किन्छ काहीं ?”